प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीबाट प्रभावित नागरिकलाई राज्यले कहिल्यै एक्लो नछोड्ने बताएका छन् ।
बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुर–१० बेत्रावतीमा ६४ वर्षीया चन्द्रिका श्रेष्ठको जीवितै उद्धार भएको घटनाले खोज तथा उद्धारमा अझै आशा कायम रहेको उनले बताएका हुन् ।
‘बाढी प्रभावित क्षेत्र, नुवाकोटको विदुर–१० बेत्रावतीमा आज सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरेको खबरले सिंगाे देशलाई नै आशा दिएको छ,’ उनले लेखेका छन्, ‘यो खबर, खोज तथा उद्धारमा हामी अझैँ डटेर लागिरहेका छौँ भन्ने सन्देश पनि हो ।’
प्रधानमन्त्री शाहले खोज तथा उद्धारको काम अझै पनि निरन्तर भइरहेको सन्देशसमेत यस घटनाले दिएको उल्लेख गरेका छन् ।
उनका अनुसार चन्द्रिका श्रेष्ठको उमेर समूहका तथा त्यसभन्दा माथिका धेरै ज्येष्ठ नागरिकलाई यसअघि नै प्रभावित क्षेत्रबाट उद्धार गरिएको छ । ‘यसअघि पनि हामीले चन्डिका आमाको उमेर समूहका र त्योभन्दा माथिल्लो उमेरका धेरै आमाबुबाहरूलाई प्रभावित क्षेत्रबाट उद्धार गरिसकेका छौं,’ प्रधानमन्त्रीले लेखेका छन् ।
बाढीका क्रममा कतिपय आमाबुबाले काँपिरहेका हातले नातिनातिनालाई च्यापेर डाँडातिर भाग्दै ज्यान जोगाएको तथा लौरो नटेकी दुई पाइला सर्न नसक्ने अवस्थामा समेत आफ्ना सन्तान बचाउने असाधारण साहस देखाएको उनले बताएका छन् । ‘लौरो नटेकी दुई पाइला सर्न नसक्ने गोडाहरूमा त्यो क्षणमा आफ्ना सन्तान बचाउने अनौठो हिम्मत आयो,’ प्रधानमन्त्री शाहले अगाडि लेखेका छन्, ‘बाढीका कारण वृद्धआश्रममा बसिरहनुभएका आमाबुबाहरू समेत भाग्नुपर्यो ।’
बाढीका कारण वृद्धाश्रममा बसिरहेका ज्येष्ठ नागरिकसमेत सुरक्षित स्थानतर्फ भाग्न बाध्य भएको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् । अस्थायी बसाइलाई सकेसम्म छोटो बनाएर ज्येष्ठ नागरिकका लागि छिटो सुरक्षित बसोबासको व्यवस्था मिलाउने प्रतिबद्धता पनि प्रधानमन्त्री शाहले व्यक्त गरेका छन् ।
‘हजुरहरूको छातीमा परेको त्यो असीम पीडा, रित्तोपन र आघातलाई हामीले हृदयदेखि महसुस गरेका छौँ । हजुरहरूले आफूलाई एक्लो नठान्नु होला । जीवनको यो कठिन मोडमा हजुरहरूलाई कहिल्यै अलपत्र छोड्दैनौँ । हजुरहरूसँग यो राज्य छ, यो सरकार छ,’ उनले भनेका छन् ।